छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताए ।
उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको जानकारी दिए । संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार पाँच सयका दरले दलित भत्ता उपलब्ध गराइने उनले बताए । सो भत्ता अन्तिम पाचँ वर्षको कार्यकालमा रु पाँच हजारसम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ । विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ ।
बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गइरहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यक्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।
यो पनि- स्थानीय तहमा हुने घटना दर्तालाई थप व्यवस्थित गरिने भएको छ । घटना दर्तामा केही समस्या रहेको गुनासो स्थानीय तहबाट आउन थालेपछि थप व्यवस्थित गर्ने तयारी गरिएको हो । पञ्जीकरण विभाग र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले संयुक्तरुपमा शुक्रबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले जन्म, विवाह दर्ता गर्दा केही समस्या रहेको र यसकै कारण नागरिकता वितरणमा समेत समस्या देखिएको गुनासो गरेका थिए ।
कार्यक्रमका सहभागीले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नुपरेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे । विशेष गरी बाबुआमा नभएका बालबालिकाको जन्मदर्ता गराउन समस्या रहेको भन्दै पहिचान नखुलेका व्यक्तीको घटना दर्ता गर्न कानुनमा नै समस्या रहेको बताएका हुन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मीरा पन्त बोहोराले भन्नुभयो, “हाम्रो वडामा एकजना महिला हुनुहुन्छ, उहाको केही पहिचान छैन । पहिचान नभएका व्यक्तिको जन्मदर्ता र अन्य अभिलेख कसरी राख्ने ?” हुम्लाको नाम्खा गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख रेशम खड्काले नाम्खा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे ।