महाशिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।
यो वर्ष ५ हजारको हाराहारीमा साधुसन्तहरु पशुपतिनाथमा आएको उनले बताए। महाशिवरात्रीमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर उमाकुण्डलगायतका स्थानमा राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो।
कोषले साधुसन्तहरुको वर्गीकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ। साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाई गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
महाशिवरात्रीका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औंशीका दिन दक्षिणासहित बिदाइ गर्ने परम्परा छ ।