छोराले दाउरो प्रहार गरी आफ्नै ७८ वर्षीय आमाको हत्या


भरतपुर महानगरपालिका–११ ग्णेशस्थानमा छोराले मादक पदार्थ सेवन गरी दाउराले हानेर आफ्नै आमाको हत्या गरेका छन् । चितवन प्रहरीको अनुसन्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले हत्या गरेका हुन् ।


आमा छोराबीच बिवाद हुँदा लाठी (दाउरो) ले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो । तत्काल घटना स्थलबाट फरार अभियुक्त पुरन घलेलाई खोजतलास गर्दा आज बिहीबार बिहान घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर लाशको मुचुल्का उठाएको थियो । चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।