बारा २ मा जसपाका यादवलाई सहयोग गर्ने कांग्रेसको निर्णय


नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

यसअघि बसेको समितिको बैठकमा पनि यादवलाई नै सघाउनेबारे छलफल भएको थियो। तर विवाद हुँदा उक्त बैठकले निर्णय गरेको थिएन।

आजको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो। वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो।

कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।