उपनिर्वाचनमा कांग्रेसबाट दुई महामन्त्री गगन र विश्वप्रकाश खटिने


उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा नेपाली कांग्रेसबाट दुई महामन्त्री खटिने भएका छन्।

भोली उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मा खटिने भएको एक पदाधिकारीले जानकारी दिए।

महामन्त्री थापाको उपस्थितिमा तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गर्नेछन् भने महामन्त्री शर्माको उपस्थितिमा जीतनारायण श्रेष्ठले चितवनमा उम्मेदवारी दिनेछन्।

उम्मेदवारी दर्तापछि तनहुँ र चितवनमा सभा हुनेछ। ती सभालाई महामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

वैशाख १० गते तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदैछ। कांग्रेसले बारामा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरिसकेको छ।

कांग्रेसले एकतावद्ध भएर चुनावमा खट्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेको छ। उपचुनाव हुने जिल्लामा अनुशासनका कारबाही गरिएकाहरू कांग्रेस नेता तथा कार्यकर्तामाथिको कारबाहीसमेत फुकुवा भएको छ।