उपनिर्वाचनको संघारमा एक भिडिओमा नेपाली कांग्रेसलाई भोट हाल्छु भनेपछि आफ्ना समर्थकहरूले सामाजिक सञ्जालमा गाली गरेकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले माफी मागेका छन्। बुधबार बिहान किशोरीको घरमै पुगेर रविले घुँडा टेकेर माफी मागेका हुन्।
उपनिर्वाचनको चुनावी प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। उनले अरुलाई जसलाई भोट दिन मन लाग्छ दिन मिल्ने तर आफू घण्टीमा नभई रुखमा भोट हाल्ने बताएकी थिइन्। उक्त भिडिओ सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले उनीमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गरेका थिए। समर्थकले गल्ती गरेको भन्दै चुनाव जितेपछि रवि किशोरीको घरमै पुगेका हुन्।
रास्वपाले आफ्नो पेजमा सार्वजनिक गरेको उक्त भिडिओमा रवि भन्छन्, हामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ। उनले आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने पनि ती किशोरीलाई आश्वस्त पारे।
मन नपर्दा विरोध गर्न पाइने बताउँदै उनले भने, सरी नानु। म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु। उनले भनेका छन् । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् ।
बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ । थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं ।’ चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रवि ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।
त्यसो त चितवन क्षेत्र नम्बर २ मा पर्ने इच्छाकामना गाउँपालिकाका ७, भरतपुर महानगरपालिकाका १० र कालिका नगरपालिकाका ११ गरी जम्मा २८ वटा वडाहरुमध्ये २ वटा बाहेक सबै वडामा लामिछानेले अरु उम्मेदवार भन्दा बढी मत ल्याएका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले जितेको इच्छाकामना गाउँपालिकाका ७ वटा वडामध्ये ६ वटा वडामा रविले एमाले उम्मेदवारलाई पछि पारेका थिए । लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारहरुलाई सदा साथमै लिएर चितवन २ का नागरिकको आकांक्षा पूरा गर्न सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले जनप्रतिनिधिको रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने उल्लेख गरेका छन् ।
त्यस्तै लामिछानेले आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएको बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत चितवन–२ का जनतालाई धन्यवाद दिँदै उनले विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि हुने मान्यतामा सँधै प्रतिबद्ध रहने बताएका छन्। लामिछानेले चितवन–२ सहित देशैभरी गर्नुपर्ने काम धेरै रहेकाले सम्पूर्ण जनताको समर्थनमा मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने बताएका छन्।
उनले तनहुँ–१ बाट निर्वाचित पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा तनहुँमा उभार सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्। लामिछानेले बारा–२ मा यसपटक व्यक्त भएको स्नेहले अर्को अभ्यासमा परिणाम दिनेमा विश्वस्त रहेको बताएका छन्।
उनले समग्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले आफूहरूलाई थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्ररित गरेको बताएका छन्। उनले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताउँदै उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल र तिनका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।े