प्रहरीले नक्कली नोटसहित वीरगन्जबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–१२ का ३४ वर्षीय आनन्दबर्दन सिंह र बारा परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा बुधबार साँझ साढे ४ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ चालीसफिटे सडकखण्डमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
भारतीय बीआर ०१ पीजी ६५७७ नम्बरको सेतो रंगको गाडीबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । गाडीको जाँच गर्दा सेतो प्लास्टिकको झोलाभित्र नेपाली नक्कली नोट १ हजार रुपैयाँ दरको ४ सय ५० थान र ५ सय रुपैयाँ दरको ७२ थान गरी जम्मा नेपाली नक्कली नोट चार लाख ८६ हजार रुपैयाँ बरामद भएको थियो ।
साथै सक्कली १ हजार दरका २ सय थान गरी जम्मा २ लाख रुपैयाँ नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । गाडी सिंहले चलाएका थिए । उनीहरूविरुद्ध मुद्रासम्बन्धी कसुरमा बिहीबार पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।