कालीकोटमा जिप दुर्घटना हुँदा दम्पतीको गयो ज्यान


कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान्(श्रीमतीको ज्यान गएको छ।

आज रास्कोटबाट सदरमुकाम मान्मा जान लागेको ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता डिएसपी जयश्वर रिमालका अनुसार जिप न्युट्रलमा राखेर चालक ओर्लिएका थिए। त्यसपछि जीप आफै पछाडि हटेर तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी ३० वर्षीया रिताकुमारी सिंह घाइते भएकी छन्। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पुर्‍याइएको डिएसपी रिमालले बताए।

दुर्घटनापछि जिपका चालक विनोद दलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिमालले जानकारी दिए।