सेवा आयोगका अध्यक्ष दाहाललाई दुर्व्यवहार गर्ने विद्यार्थी नेता पक्राउ


 पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघका नेता पक्राउ परेका छन् । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले सभापति पोखरेललाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । ढकालका अनुसार पक्राउ परेका पोखरेललाई  अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थपिएको छ । 

पोखरेल नेतृत्वको समूहले अध्यक्ष दाहालको अनुहारमा सोमवार कालो पदार्थ पोखिदिएका  थिए ।  अध्यक्ष दाहालले पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएपछि विद्यार्थी संगठनको नेतृत्व आक्राशित बनेको थियो ।