सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले अहिले सरकार दायाँबायाँ हुने अवस्थामा नरहेको बताएकी हुन् ।
पछिल्लो समय प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागिरहेका बेला मन्त्री शर्माको यस्तो भनाइ आएको हो । व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिमा दाहालले नै स्पष्ट पारिसकेको पनि उनले बताइन् ।
सरकारलाई जनताको पूर्ण साथ रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘सरकार ढल्ने कुनै सम्भावना छैन । दायाँबायाँ हुँदैन । यस सरकारलाई जनताको पूर्ण साथ छ । सरकारले राम्रो काम गरिरहेको छ ।’ सरकारले हाई प्रोफाइल संलग्न भ्रष्टाचारका फाइल खोलिरहेकाले पनि जनताको साथ र समर्थन बढिरहेको मन्त्री शर्माको भनाइ छ ।
उनले भनिन्, ‘जनताको मर्म बोक्ने, जनताका मुद्दा बोक्ने काम गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ छ । सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी थुप्रै काम गर्दैछ । हाई प्रोफाइल मान्छे नै भए पनि कानुनी दायरामा आउनुपर्छ । सबै कानुनको दायरामा आउनुपर्छ । गल्ती गर्ने मान्छेहरू कानुनको दायरामा आउनुपर्छ भन्ने कुरामा सरकार दृढताका साथ लागेको छ ।’
मन्त्री शर्माले नागरिकता ऐन प्रमाणीकरण भएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको पनि बताइन् । त्यस्तै पछिल्लो समय मिटरब्याजसम्बन्धी अध्यादेश संसद् अवरोधका कारण निष्क्रिय भए पनि सरकारले तत्काल यससम्बन्धी विधेयक ल्याउने बताए ।