एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गर्ने 


एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ ।  सुन तस्करी प्रकरणबारे राजश्व अनुसन्धान विभागले गरिरहेको छ । तर,  राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, महान्यायाधिवक्ता दिनमणि पोखरेल, आईजीपी बसन्त कुँवर, सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका हुन् ।

सुन तस्करीमा संगठित गिरोह लागेको र अपराध संगठित प्रकृतिको भएकाले सीआईबीलाई अनुसन्धान गर्न दिने निष्कर्मा प्रधानमन्त्री प्रचण्ड पुगेको बालुवाटारस्रोतले जनाएको छ । अब राजश्व अनुसन्धान विभागले अनुसन्धानको फाइल सीआईबीलाई बुझाउनेछ । 

सुन प्रकरणबारे सुरुवाती चरणमा विभागले आफैँ अनुसन्धान गरेको थियो । तर, अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाउन लागिएको हो ।

राजश्व अनुसन्धान विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको एक सय किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।  विभागको टोलीले ट्याक्सी चालकसहित त्यही दिन तीन जनालाई पक्राउ गरेको थियो ।