रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना बुढा बोहराले त्यसअघि पनि महिलाको हत्या गरेको बताइएको छ। गत बिहीबार मुसिकोट नगरपालिका १ सल्लेकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि अर्की महिलाको पनि हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार एक युवतीले दुई महिलाको हत्या गरेको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार गत ५२ बर्षीया हस्त कली बुढाथोकीको हत्या अभियोगमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि पनि एक महिलाको हत्या गरेकी हुन् ।
२०७५ साल असार १० गते सोही गाउँकी ४६ बर्षीया आइती बुढाको हत्या भएको थियो । तर हालसम्म हत्यारा पत्ता लागेको थिएन । डिएसपी भट्टराईले बोहराले नै उक्त घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको उल्लेख गर्नुभयो ।
पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपी युवतीले प्रहरी समक्ष दिएको जनाइएको छ ।