नाबालिकामाथि सामूहिक बलात्कारका आरोपी १६ वर्षपछि पक्राउ


नाबालिकामाथि सामूहिक बलात्कार गरी फरार रहेका एक जना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार चितवन भरतपुर महानगरपालिका-८ गौरीगंजबाट एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा गौरीगंजका ५८ वर्षीय अमरेश कडेल छन्। कडेलविरूद्ध दुई वटा मुद्दामा फैसला भएको थियो। जबरजस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। सिआइबीका अनुसार घटना २०६४ पुस ५ गते राति साढे १० बजे ललितपुरको ठैबमा भएको थियो।

साबिक ठैब गाविस-८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकामाथि सामूहिक बलात्कार भएको थियो। त्यस कसुरमा अमरेश कडेलसहित व्यक्तिहरूलाई जिल्ला अदालत ललितपुरले २०६५ साल फागुन ४ गते कैद सजाय सुनाएको थियो। तर फैसला कार्यान्वयन नगरी कडेल फरार थिए।

सिआइबीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको थियो। फैसला कार्यान्वयनको लागि उनी आजै कारागार कार्यालय चितवनमा पठाइएका छन्।