होस्टेलमा ८ वर्षीय बालक मृत फेला, सुर्खेतकाे बालवाटिका स्कुल तनावग्रस्त

Microlink Media

१३ आश्विन २०८०, शनिबार


सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा  बालक मृत भेटिएका छन् । नगरपालिका–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् ।


स्कुलमा मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार साँझ होस्टेलकाे खाटमा झुण्डिएको अवस्थामा फेला परेका  थिए ।आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् । घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।

मृतक बालकका आफन्तहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा गरेका हुन् । प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।