कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । किशोरका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए । भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए ।
विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए । हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो । किशोरले विपिनलाई फेरि सम्पर्क गर्ने कोसिस गरे । तर सम्पर्क भएन ।
इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाएपछि उनले पटकपटक विपिनलाई सम्पर्क गर्न खोजेपनि उनीसँग सम्पर्क हुन सकेको छैन्। विपिन गत २६ भदौमा इजरायल गएका थिए। उनी त्यहाँ एउटा कृषि फर्ममा काम गर्दै आएका थिए। इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन्।
किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए। तर, त्यसपछि भने सम्पर्क हुन सकेको छैन।