भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन् ।
भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ । दसैंपछि एलिनाले भाईलाई समेत आफैसँग राखेकी थिइन् यस्तै भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
भूकम्पको क्षति निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार बिहान जाजरकोट पुगेका थिए।सोही हेलिकोप्टरमा जाजरकोटको नलगाडका ७ जना घाइते र उनीहरूका कुरूवालाई सुर्खेत ल्याइएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड पनि घाइतेहरूसँगै जाजरकोटबाट सोही हेलिकप्टरमा जाजरकोटबाट रूकुम पश्चिम गएका थिए। रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने छन् भने सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने आचार्यले बताए। प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।