शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि, झुण्डिएर मृत्यु भएको टिचिङले दियो रिपोर्ट

Microlink Media

२० फाल्गुन २०८०, आइतबार


चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।

त्रिवि अस्पतालले आज पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले बतायो । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।