मन्त्री निवास छाड्दै किरातीले भने, ‘पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु’

Microlink Media

२२ फाल्गुन २०८०, मंगलबार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारी निवास छाडेका छन् । उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी रहेको जिकिर गरेका हुन् ।

उनले  ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको बताएका छन् । आफूलाई सेवाको अवसर प्रदान गरेकोमा प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूले सुरुवात गरेको कामलाई नयाँ मन्त्रीले  निरन्तरता दिनेमा आशा व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सरकारले दिएको निवास छोडेर जाँदै छु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कँदा खुसी छु । मेरो आमाले भन्नुहुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो’ । १३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री “प्रचण्ड”, मेरो पार्टी, मलाई मत दिनुहुने मतदाताहरू र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछु ।

म र मेरो टिमले  सकेको कोसिस गरेका छौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु । मैले यहाँ बस्दा मेरो बुबाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरू पटक पटक देखे र राजनीतिक मृत्युलाई मैले छल्न सके तर  प्राण लिने मृत्युलाई बुबाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।’