नेपाल पत्रकार महासङ्घले पत्रकार त्रिभुवन पौडेलको विमान दु’र्घटनामा भएको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने भएको छ । महासङ्घका केन्द्रीय सदस्य पत्रकार पौडेलको निधनमा महासङ्घले माघ २ गते सोमबार महासङ्घका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।
विसं २०७४ मा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासङ्घ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत थिए ।
महासङ्घले आज शोक विज्ञप्ति जारी गरी स्व पौडेलसहित विमान दु’र्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ । महासङ्घका केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको अल्पायुमै विमान दु’र्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र शोकमग्न भएको छ ।
काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको नि’धन भएको हो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए। स्व पौडेलका आमा, श्रीमती र एक छोरा छन् । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको महासङ्घको भनाइ छ ।
कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासङ्घले जनाएको छ ।
यती एयरको दुर्घ’टना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।
त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो । त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो । सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।
पोखरामा आइतबार दुर्घटनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।