एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला


बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ।  उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ। 

यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए।  उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए। 

‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी  छ। आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए। उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे।

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ।  यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको बताए। 

उनले बिक्री लक्ष्यअनुसार तीन करोडको सुन्तला उत्पादन भएको बताए।  पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पुर्‍याउने गरेका छन्। 

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।