दिलीप महतोको हत्यामा दोषी ठहरिएका क्रशर उद्योगीका तीन जनालाई कैद सजाय 

मेचीकाली खबर
मेचीकाली खबर
१३ फाल्गुन २०७९, शनिबार
शेयर

धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५/५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ ।

जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ सजाय पनि तोकिएको छ । अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको थियो । २०७६ साल पुष २५ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षका दिलीपको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये चार जनालाई अदालतले सफाइ दिइएको छ । हत्या गरिएका दिलीपका बहिनीहरू सङ्गम र लक्ष्मीले दाइले सुरु गरेको अभियान अघि बढाइरहेका छन् । सङ्गमको अध्यक्षतामा ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठान दर्ता गरिएको छ । 

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।