गृहमन्त्री भएपछि पहिलोपटक चितवन आए रवि


उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरेका छन् ।

लगत्तै उनि आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका छन् । उनि आज चितवनमा आधा दर्जन कार्यकक्रममा सहभागी हुँदैछन् ।

यो पनि- बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्नु हुनेभएको छ । राप्रपाले बुधबार उहाँलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो । सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । यस्तै, बागमती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् ।