वानएक्स बेट काण्डमा पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल राजु मास्टर, मरिचमान श्रेष्ठ बल्छी ध्रुवे, भटभटे माइला बेगम नेपाली, पवन खतिवडा म्याकुरी र सरोज घिमिरेलाई पक्राउ गरेको हो । यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा।मनोज केसीले जानकारी दिए ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो । प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।