नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई प्रतिनिधि सभा बैठकमा बोल्न समय नदिइएको गुनासो गरेका छन्।प्रमुख सचेतक रमेश लेखकले बोल्न समय नदिएको आरोप उनको छ। नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकमा आफूले संसदमा बोल्न समय नपाएपछि सञ्चार माध्यमहरूमा बोल्नुपरेको बताएका हुन्।
‘मलाई संसद बैठकमा बोल्न समय दिइएको छैन,’ उनले भने, ‘बोल्न दिइएन भने म विद्रोह गर्छु।’ उनले बोल्न समय माग गर्दै संसदमा सभामुखसँग आग्रह गर्ने पनि बताए। सभामुखले बोल्न समय दिनुभएन भने म उभिइरहन्छु,’ उनले भने, ‘विद्रोह गर्न पाइँदैन भन्ने कुरा पनि आएको छ। तर मेरो मुख थुनियो भने मैले बोल्छु र मेरा कुरा राख्नु भनेको छु,’ उनले भने।
आफूलाई प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको उनको आरोप छ। ‘मैले झगडा गरेपछि मात्रै पक्राउ पुर्जी दिइएको थियो,’ उनले भने। शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा उनलाई सिआइबीले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उनी थुनामुक्त भएका थिए।
उनले अहिलेको सरकारमा कांग्रेस छ कि छैन भन्ने प्रश्न पनि गरेका थिए। मैले मान्छे मारेको छैन, सुन तष्करी गरेको छैन। तैपनि मलाई पक्राउ गरियो, हातपात गरियो,’ उनले गुनासो गरे, ‘अहिलेको सरकार आतंककारीहरूको सरकार हो, हामी सरकारमा भएको अनुभूति भएको छैन, यो सरकारलाई बिदा गर्नुपर्छ।’
आफूले सभापति शेरबहादुर देउवालाई पितासमान सम्मान गरेको उनको भनाइ थियो। उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकोबारे पनि स्पष्टीकरण दिएका थिए। आफूलाई सहयोग गरेकोले भेटेको उनको भनाइ थियो।
उनले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको विषयमा नैतिक प्रश्न मात्रै गरेको बताए। प्रकाशशरण महतसँग मेरो व्यक्तिगत दुश्मनी छैन, तर विभिन्न प्रकरणमा नैतिक कुरा उठान गरेर राजीनामा मागेको हुँ,’ उनले भने, ‘महत र वीरबहादुर बलायर बैठक छाडेर जानुभयो। आफूले प्रश्न सोध्ने, जवाफ नसुन्ने?’
उनले अर्थमन्त्री र गृहमन्त्रीले विभिन्न प्रकरणमा थाहा छैन भनेर भन्न नपाउने पनि बताए।