गाउँघरमै सीमित सिम्रनको सांगीतिक दुनियाँमा फड्को


गाउँघरमा सीमित सिम्रन यतिखेर ‘भाइरल गायिका’ हुन् । बागलुङको एक गरिब परिवारमा हुर्कीबढेकी उनलाई यति चाँडै भाइरल बनेर चम्किएला भन्ने लागेकै थिएन । पाँच दिन पहिलेसम्मको कुरा हो । घरबाट पैदल पौने घण्टाको दुरीको स्कुल जाँदाआउँदा भविष्यमा सफल गायिका बन्ने लक्ष्य साँचेर एक्लै गुनगुनाउँथिन् ।

सपना पूरा गर्न सँघारको सुरुआत गीत रेकर्ड आर्थिक अवस्था कमजोरीका कारण तत्काल सम्भव थिएन । तर एक साता नबित्दै उनै सिम्रन अहिले सबैभन्दा खोजीको पात्र बनेकी छन् । दुर्गम गाउँदेखि राजधानी काठमाडौं छिरेर गीत रेकर्ड गर्न भ्याइनभ्याइँ छ ।

अहिलेसम्म चार वटा गीत रेकर्डसहित एउटा म्यूजिक भिडियो खेल्न भ्याएकी उनले आइतबार रातिसम्म अरु चार गीत रेकर्ड गरिसक्ने बताइन् । यसरी रातारात भाग्य चम्काउनुमा मेचीकालीका सञ्चालक चर्चित सञ्चारकर्मी भोजराज थापा, गीतकार÷संगीतकार सुनिल बिसीसहित उनलाई लाखौं दर्शक–स्रोताको साथ छ ।

जादुमयी स्वरमा गीत गाएर बागलुङ नगरपालिका वडा ६, तीनतलेकी १८ वर्षीया सिम्रन परियार केही दिनदेखि सामाजिक सञ्जालमा छाएकी हुन् । उनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन् । गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन–२’ को फिमेल भर्सन शुक्रबारमात्र सार्वजनिक भएको थियो ।

सुनिल बिसी युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण मिलियन क्रस गरिसकेको छ । गीत रेकर्डको चाँजोपाँजो मिलाउने श्रेय मेचीकालीका भोजराजलाई जान्छ । गत १९ साउनमा थापा नेपाल पुकारका प्रकाशचन्द्र दाहालसँग काठमाडौंदेखि सिम्रनको अन्तर्वार्ताका लागि बागलुङ पुगेका थिए । स्कुल ड्रेसमै सिम्रनलाई भेटे ।

उनले त्यहाँ सिम्रनलाई केन्द्रबिन्दुमा राखेर उनको घरपरिवार, साथीसँगी, शिक्षकसँग कुराकानीको भिडियो क्लीप दिए । स्कुल ड्रेसमै सिम्रनको गायन तरकी त टिकटिक बने । ‘कोही कतैबाट सुरिलो आवाज ठोक्कियो । यो आवाज देशविदेशमा रहेकाहरुमाझ पु¥याउनुपर्छ भन्ने लागेर म एक माध्यम बनेको हुँ,’ भोजराजले भने, ‘बागलुङ पुगेर उनको ((सिम्रन) अन्तर्वार्ता लिएपछि यस्तो लाग्यो, यो आवाज मैलेमात्र मन पराएको रहेनछु, दुनियाँले सुन्न र हेर्न खोजेका रहेछन् ।’ भोजराज अगाडि थप्छन्, ‘सिम्रनको आवाज गड गिफ्टेड हो । अरुको भन्दा अलग छ ।

त्यो पनि संगीतको ‘स’ पनि नसिकेकि सिम्रनले यति मीठो गीत गाउन सक्नु साँच्चिकै विलक्षण प्रतिभा हो ।’ १९ गते बागलुङ पुगेर अन्तर्वार्ता लिएपछि भोजराज काठमाडौं फर्के र युट्युब च्यानलमा भिडियो अपलोड गरेका थिए । सिम्रन खोजीको पात्र बनिन् तर तत्काल गीत रेकर्ड अफर आएन । भोजराज आफैँ कस्सिए । उनले आफ्नै प्रयासमा गीत रेकर्डको योजना बुनिरहँदा गीतकार तथा संगीतकार सुनिल बिसीले हिम्मत दिँदै भनेछन्, ‘ल भोजराजजी सिम्रनलाई गीत रेकर्ड गर्न ल्याउनोस् ।

प्रमोद खरेलले गाएको मेरो ‘उसलाई पाउन–२’ गीतको फिमेल भर्सनमा ब्रेक दिन्छु ।’ गत वर्ष सार्वजनिक ५० लाख भ्यूअर पाइसकेको उक्त गीत सिम्रनलाई दिने भएपछि भोजराज फेरि पाँच दिन सरप्राइज लिएर सिम्रनलाई भेट्न गए । बागलुङ सदरमुकामस्थित विद्या मन्दिर मावि कक्षा १२ मा विज्ञान पढिरहेकी सिम्रनलाई स्कुल परिसरमै भेटेर सरप्राइज दिए–तिमीलाई गीत रेकर्डको अफर आयो ।

साथीभाइमाझ घेरिएकी सिम्रन खुसीले गद्गद् बनिन् । तर काठमाडौं जान परिवारबाट स्वीकृति चाहिन्थ्यो । घरमा आमा मनीषा परियार र ७ वर्षीय भाइ सौगात थिए । बाबु सोम परियार विदेश गएको भर्खर २ महिना भएको थियो । लाखौंलाख दर्शकले सिम्रनलाई मन पराइसकेको र अब एउटामात्र गीत गाए हिट हुने भोजराजले सिम्रनको आमालाई सुनाए ।

काठमाडौं जाने तयारी हुँदैगर्दा बाबु पनि म्यासेन्जरमा आए । खुसीले रोए । नरोऊन् पनि किन । घरको आर्थिक अवस्था कमजोर । पहिले पनि मलेसिया गएर फर्किएका उनी १७ लाख ऋणले च्यापिएर रोमानिया उडेका थिए । पूर्वसम्झौताअनुसार काम पाउन नसकी इन्तु न चिन्तु थिए । छोरीको गायिका बन्ने लक्ष्य पूरा हुने कुराले हर्षका आँसु बगाए ।

सानोमा आफूसँगै गुनगुनाउने छोरीको उज्यालो भविष्यको कामना गर्दै काठमाडौं यात्राको शुभकामना दिए । सिम्रनले आमालाई साथै लैजाने भइन् । रातारात बागलुङ–काठमाडौंको यात्राको थकानबीच भोलिपल्टै सिम्रनले जादुमरी स्वरमा गीत रेकर्ड गरेकी हुन् । भोजराज भन्छन्, ‘सिम्रनको गीत रेकर्ड हुने सन्देशसहित भिडियो यात्राका क्रममा पोखरामा आएर युट्युबमा सेयर के गरेको थिएँ, त्यसबेला डेढ सय वटा कल आए होलान् ।

बैनीको प्रतीक्षामा सिंगो सांगीतिक फिल्ड रहेछ भन्ने लाग्यो । मात्र कहिले पहिले ल्याउला भन्ने रहेछ ।’ मारुनी डिजिटलमा २५ साउनमा पहिलो पल्ट गीत रेकर्डिङका लागि छिर्दा सिम्रनमा डर र उत्साह दुवै भरिएको सम्झिइन् । गीत रेकर्ड भयो । डेब्यु गीतबाट नगद ५ हजारसमेत । बेजोड सुनिएको यो गीत तीन दिनमै मिलियन क्रस गरिसकेको उपलक्ष्यमा आइतबार राति सेलिब्रेसन गरिएको छ ।

सिम्रनलाई यतिबेला टेलिसिरियलसँगै थुप्रै गीतका लागि अफर आएको छ । सिम्रनले गाएको अर्को गीत ‘मुटुमै घाउ छ’ शनिबार रिलिज भयो । श्रीधर अधिकारीको संगीतसँगै निर्देशनमा डा. विष्णुमूर्ति भट्टराईको शब्दको उक्त गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । आइतबार दिउँसो त सिम्रन आफूले गाएको गीतको म्युजिक भिडियोमै देखिइन् ।

ऋषि खड्का युट्युब च्यानलबाट सार्वजनिक ‘ए साइला परेलीभित्र’ बोलको लोक–पप फ्युजनको यो गीतमा उनी गायक ऋषिसहित मोडल आम्दा आलेमगरसँग सुन्दर नृत्यमा देखिन्छिन् । वर्षामाझ हतारहतार छायांकन सकेको उक्त भिडियोको निर्देशन सिर्जन बराल (ऋषि) ले गरेका हुन् ।

यस्तै, अर्जुन सापकोटाको लोकगीत ‘पानी परेको’ रेकर्ड भ्याइसकेकोमा सोमबार रिलिज हुँदैछ । स्टुडियोमा धेरै गीत रेकर्डमा व्यस्त थिइन् सिम्रन । आइतबार उनले थप चार गीत रेकर्ड भ्याउनु छ । अप्रत्यासित हात लागेको यो सफलताबीच सिम्रनले भनिन्, ‘अब पढाइसँगसँगै म्युजिकलाई पनि अघि बढाउने छु ।

उनलाई काठमाडौं बसेर संगीत क्लास लिन अग्रजले सुझाएका छन् । आफ्नो स्वरको फिमेल भर्सनमा देखिएकी सिम्रनलाई गायक प्रमोदले शुभकामना दिंदै सफल सांगीतिक यात्राको कामना पनि गरेका छन् । उनले सिम्रनलाई म्युजिक क्लास लिन र पढाइसँगसँगै सांगीतिक क्षेत्रमा लाग्न सल्लाह दिए ।

सिम्रनले पनि प्रमोदको फ्यान भएको उल्लेख गर्दै प्रमोदकै गीत पहिलोपल्ट रेकर्ड गर्न पाएकोमा खुसी व्यक्त गरिन् । सिम्रनमा गायन रस भने सानैमा बसेको रहेछ । उनका बाबुले घरमा छँदा गीत गाउँथे । सिम्रनले त्यो क्षण स्मरण गरिन्, ‘म चारपाँच कक्षादेखि नै गुनगुनाउने गर्थें । बाबाले पनि गाइरहने घरमा । मलाई पनि इन्टे«स्ट लाग्यो ।

अनि त खाली छँदा गाइरन थालें ।’ पढाइमा पनि अब्बल उनी स्कुलका विभिन्न सांगीतिक कार्यक्रममा भाग लिँदै जान थालिन् । पुरस्कार पनि जितिन् । गीत गाउन परे साथीभाइले उनैलाई फर्माइस गर्थे । केही वर्षअघि बागलुङ गाइज स्टारमा सिम्रन प्रथम घोषित भइन् । त्यसबेला नृत्य र गायन दुवै गर्नुपथ्र्यो । तर प्रथम भए पनि पुरस्कारवापत् ४० हजार अझै प्राप्त नभएको उनको गुनासो छ ।

सदरमुकामस्थित युनिभर्सल सवलाइम एकेडेमीबाट २०७८ सालको एसइईमा ए प्लस ल्याएर उत्तीर्ण उनले विद्या मन्दिरमा विज्ञान पढिरहेकी छन् । अब केही दिनमा बागलुङ फर्केपछि पढाइसँगसँगै सांगीतिक करिअर निर्माण गर्न बिस्तारै काठमाडौंमै बसोबासको व्यवस्था मिलाउने उनकी आमाले बताइन् । सिम्रन पढ्ने विद्यालयका प्रिन्सिपल छवि रेग्मीले सिम्रनलाई मेधावी र लगनशील छात्राको रुपमा चिन्छन् । पढाइमा पनि अब्बल सिम्रनको सांगीतिक क्षेत्र निकै उज्यालो रहेको भन्दै शुभकामना दिए ।