बागलुङको भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल हत्याका २ जना आरोपीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो ।
गत साउन ८ गते राति ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेको प्रहरीले बतायो । घटनापछि प्रहरीले अनुसन्धान जारी राखेको थियो । खाजा खान गएका पौडेल रातिसम्म बसेपछि आशासँग भनभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा पनि शरीरभर नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ । पौडेलको घाँटीमा लगाएको सिक्री आशाले राखेको समेत भेटिएको थियो । निर्घात कुटेपछि घाँटी थिचेर मारेको आरोपीले बयान दिएको प्रहरी नायब उपरिक्षक मदन केसीले बताए । अदालतमा भने आमाछोराले फरक–फरक बयान दिएका थिए ।
‘फरक–फरक बयानले एकले अर्कोलाई बचाउन खोजेझैं देखिन्छ,’ मृतकका आफन्तले भने ‘एउटै कोठामा भएका तीन जनामा एकले अर्कोलाई मरणाशन्न हुने गरी कुटपिट गर्दा अर्कोले हेरेर बसेको बयानले शंका उब्जेको छ ।’ खाजा खान बोलाएको तथा कुटपिटबाट बेहोस भएको बेला विनोदले साथीलाई फोन गरेर जानकारी दिएको समेत अनुसन्धानमा उल्लेख छ ।
अदालतको आदेशपछि आमाछोरा दुवैजना बुधबारै जिल्ला कारागार चलान भएका छन् । तीन वर्षसम्म भीआईपी सुरक्षामा खटिएका पौडेल गत वर्ष सरुवा भएर भिमगिठे गएका थिए । उनी जिल्लाका अन्य चौकी इन्चार्जको तुलनामा चलाख र दक्ष प्रहरीमा समेत गनिएका थिए ।