काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीहरूको अवस्था तथा भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको हो । निरीक्षणपछि उहाँ आजै काठमाडौं फर्किनुभएको छ ।

हिजो रसुवाको भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको थियो । बाढीपछि उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएका उहाँले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न नुवाकोट पुग्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, घर तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत तथा उद्धारको अवस्थाबारे छलफल गरेको थियो ।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्थलगत निरीक्षण तथा आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ ।





