भोटेकोशी हिमबाढीपछि अमेरिकाको थप मानवीय सहायता नेपाल आइपुग्यो


काठमाडौँः भोटेकोशी हिमबाढीपछि अमेरिकाले नेपाललाई थप मानवीय तथा विपत् प्रतिकार्य सहायता उपलब्ध गराएको छ ।

अमेरिकी सेनाका दुई कार्गो विमानमार्फत ५ हजार थान विशेष राहत सामग्री, ५ सय प्राथमिक उपचार किट, स्ट्रेचर तथा भारवहन उपकरण नेपाल ल्याइएको अमेरिकी दूतावासले जनाएको छ । यसअघि अमेरिकाले बाढी प्रतिकार्यका लागि ३ लाख ६० हजार अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको थियो । त्यस्तै, अमेरिकी मानवीय संस्था सामारिटन्स पर्स मार्फत ४० टनभन्दा बढी राहत सामग्री पनि काठमाडौं आइपुगेको छ ।

पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सोलार बत्ती रहेको उक्त सामग्री २ हजार ६ सय परिवारलाई वितरण गरिने जनाइएको छ । अमेरिकी दूतावासले नेपाल सरकार तथा साझेदार संस्थासँग समन्वय गर्दै आवश्यकताअनुसार सहायता निरन्तर उपलब्ध गराउने जनाएको छ ।