फेवातालमा भारतीय नम्बरको कार खस्दा दुई जनाको मृत्यु, दुईको सकुशल उद्धार



काठमाडौँः कास्कीको पोखरास्थित फेवातालमा भारतीय नम्बरको कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

शुक्रबार बिहान करिब ५ बजे पोखरा–१८ गैरीचौतारा नजिकै अनियन्त्रित भई बीआर ०५ बीबी ६७५९ नम्बरको कार तालमा खसेको थियो । दुर्घटनामा भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियांशु पाण्डेको मृत्यु भएको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । कारमा सवार २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेका छन् ।

उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तालमा डुबेको कारलाई क्रेनको सहयोगमा बाहिर निकालिएको छ