काठमाडौँः बाढी तथा पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा यातायात सहज बनाउन चीनले दुईवटा बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
चीनको तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयले १००–१०० मिटर लम्बाइका दुईवटा बेली ब्रिज निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराएको हो । नेपालले बाढी प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली ब्रिज उपलब्ध गराउन चीनसँग आग्रह गरेको थियो । सोही आग्रहअनुसार पहिलो चरणमा दुईवटा पुलका लागि सामग्री प्राप्त भएको हो ।
चीनले पुल निर्माणका सामग्रीसँगै प्राविधिक सहयोग र जनशक्ति पनि उपलब्ध गराउने भएको छ । प्राप्त सामग्रीमा बेली प्यानल, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिमलगायत पुल निर्माणका आवश्यक सामग्री छन् । बाढीपहिरोले विभिन्न स्थानका सडक तथा पुलमा क्षति पु¥याई यातायात सम्पर्क विच्छेद भएका बेला चीनको सहयोगले अस्थायी पुल निर्माण गरी आवागमन पुनः सञ्चालन गर्न मद्दत पुग्ने बताइएको छ ।





