काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्याह्नसम्म फेला परेका शवमध्ये ९६ जनाको मात्र सनाखत भएको छ । प्राधिकरणका अनुसार विपद्बाट प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ । शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने जनाइएको छ ।
जिल्लागत शव विवरणः
चितवनः ३५९, नवलपरासी पूर्वः २१९, नवलपरासी पश्चिमः २१२, नुवाकोटः १८४, रसुवाः १४०, गोरखाः ७२, धादिङः ६३, तनहुँः ३८
बाढी तथा पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक छन् । हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने सुरक्षा निकायले १३ हजार ९३ जनाको उद्धार गरेको छ । भौतिकतर्फ ७ हजार ५७० निजी घर, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएका छन् । त्यस्तै ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको छ । उद्धार तथा राहतका लागि देशभर २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले रसुवा र नुवाकोटलाई १÷१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराएको छ ।





