काठमाडौँः सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभयो । सो अवसरमा गृहमन्त्री गुरुङले जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो, “हामीले जे कसम खाएका छौँ, त्यसलाई पूरा गर्छौं।” गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो । यसैबीच, मन्त्रिपरिषद्ले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।





