बाढीपीडितलाई अपमानित गर्ने भिडियो पोस्ट गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ



काठमाडौंः बाढीपीडितलाई लक्षित गरी अपमानजनक तथा होच्याउने किसिमका भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन् । मडैलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीपीडित तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र सामाजिक सद्भावमा असर पार्ने किसिमका सामग्री पोस्ट गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनले विपत्तिमा परेका नागरिकको पीडाप्रति संवेदनशील हुनुपर्ने अवस्थामा बाढीबाट प्रभावित व्यक्तिहरूलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति तथा भिडियो सार्वजनिक गरेका थिए । त्यस्तै, विपत्तिका क्रममा खुसी मनाएको देखाउने किसिमका भिडियोसमेत सामाजिक सञ्जालमा राखेको आरोप उनीमाथि लागेको छ । यस्ता सामग्रीले विपत्तिमा परेका पीडितको भावनामा ठेस पुग्नुका साथै सामाजिक सद्भाव र शान्ति–सुरक्षामा समेत नकारात्मक असर पार्न सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

मडैलाई पक्राउ गरी उनीविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको केन्द्रीय साइबर ब्युरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा आपत्तिजनक, घृणा फैलाउने वा पीडितलाई थप आहत बनाउने किसिमका सामग्री पोस्ट नगर्न तथा त्यस्ता सामग्री शेयर नगर्नसमेत आग्रह गर्दै आएको छ ।