काठमाडौँः अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन् ।
अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले नेपाल र चीनको तिब्बततर्फ ठूलो क्षति पु¥याएको बताए। उनका अनुसार बाढीबाट नेपालतर्फको क्षति अझ ठूलो भएको छ । उनले बाढीका कारण धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ र जीविकोपार्जनका आधार गुमाएको उल्लेख गरे । बेपत्ता भएकाहरू भेटिने सम्भावना हरेक दिनसँगै कठिन बन्दै गएको भन्दै उनले अझै चमत्कारको आशामा रहेको बताए । अल्बानिजले बाढीमा परी ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टि गरे ।
उनले बेपत्ता नागरिकका परिवार र साथीहरूप्रति सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान केन्द्रित रहेको बताए । नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला अल्बानिजले सामाजिक सञ्जालमार्फत पनि बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलिया सरकार र जनताको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी संसद्लाई दिए । ‘नेपालले राष्ट्रिय शोक मनाइरहँदा हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु– यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने ।
अस्ट्रेलिया सरकारले बाढी प्रभावितका लागि त्यहाँ रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि प्रधानमन्त्री अल्बानिजले बताए। उनले अस्ट्रेलियाली नागरिकलाई आशा नहार्न र प्रभावितका लागि प्रार्थना गर्न आग्रह गरे । विपद् राहतका लागि सञ्चालन गरिएको आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको समेत उनले प्रशंसा गरे । उनका अनुसार विपद्का बेला अस्ट्रेलियाली जनताको सहयोगले ठूलो संकटको सामना एकजुट भएर गर्न सकिने र साझा मानवीय भावनाले मानिसहरूलाई जोड्ने सन्देश दिएको छ ।





