काठमाडौंमा रात्रिकालीन यातायात विस्तारको तयारी, बस संख्या ७ बाट २८ पुर्‍याइने


काठमाडौंः काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि उपत्यकाका स्थानीय तहलाई समेटेर अन्तरनगर यातायात सञ्जाल विकास गर्ने योजना अघि सारिएको छ ।

महानगरले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन सेवाको तीनमहिने परीक्षण अवधिको समीक्षा गर्दै सेवा विस्तारका लागि अध्ययन तथा सिफारिस कार्यदल गठन गरेको थियो। कार्यदलले आफ्नो प्रतिवेदन महानगरलाई बुझाइसकेको छ । प्रतिवेदनअनुसार तीन महिनामा ६६ हजार ९५२ यात्रुले रात्रिकालीन बस सेवा प्रयोग गरेका छन्। एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा करिब ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको छ ।

तर, दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेकाले प्रतिबस करिब १ हजार ६९० रुपैयाँ घाटा हुने गरेको पाइएको छ । राति ८ देखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी रहेको छ । उक्त समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारी गर्ने मजदुरको संख्या बढी देखिएको छ । हाल ७ वटा विद्युतीय बस नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सञ्चालन भइरहेका छन् । कार्यदलले यसलाई बढाएर २८ वटा बस सञ्चालन गर्न सिफारिस गरेको छ । प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगम लगायत छन् ।

यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र तथा उपत्यकाका विभिन्न नाकालाई जोड्नेछन् । रात्रिकालीन यातायातलाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले हालको भाडामा १२ रुपैयाँ थप गरी प्रिमियम भाडा लागू गर्ने, नगरपालिकाबीच घाटा साझेदारी गर्ने तथा प्रविधि र यात्रुमैत्री कार्यक्रममार्फत लागत व्यवस्थापन गर्ने विकल्प अघि सारेको छ । सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षालाई प्राथमिकता दिन बसमा सीसीटीभी, जीपीएस ट्र्याकिङ तथा व्यवस्थित बस स्टपको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

काठमाडौं, ललितपुर, बूढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गरिए रात्रिकालीन अर्थतन्त्र चलायमान हुने तथा निजी सवारीसाधनमाथिको निर्भरता घट्ने महानगरको अपेक्षा छ ।