नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा


काठमाडौँः नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

नापी कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिका–७ का ३३८ र वडा नं. ८ का ३९२ परिवारलाई गरी जम्मा ७३० थान जग्गाधनी पुर्जा वितरण गरेको हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लामो समयसम्म पुर्जा वितरणको प्रक्रिया अघि बढ्न सकेको थिएन । आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी अहिले पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले जग्गाधनी पुर्जा पाएसँगै आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

पुर्जा प्राप्त भएपछि स्थानीयमा जग्गाको स्वामित्व सुरक्षित भएको भन्दै खुसी छाएको छ । यसअघि बुद्धभूमि नगरपालिकाकै वडा नं. ५, ६ र १० मा गरी २ हजार ४१६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । सरकारले देशका विभिन्न स्थानमा लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेका भूमिहीन तथा स्ववासी परिवारलाई पुर्जा उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।