माथिल्लो त्रिशूली–३ ‘बी’मा बेपत्ताको खोजी तीव्र, तीन ठूला एस्काभेटर पुग्यो



काठमाडौँः भोटेकोशी–त्रिशूली बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन ठूला एस्काभेटर र एक ब्याकहोलोडर पुर्‍याइएको छ ।

भदौ १० गतेको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकामा फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । ठूला उपकरण आयोजनास्थल पुर्‍याउन नसक्दा यसअघि साना एस्काभेटरबाट मात्रै खोजी भइरहेको थियो । अहिले ठूला मेसिन प्रयोग गरी बाढीले पुरिएका कार्यालय तथा आवास क्षेत्रमा जमेको लेदो, ढुंगा र माटो हटाएर उत्खनन भइरहेको छ ।

बाढीले आयोजनाका ६ आवासीय भवन र एक कार्यालय भवन पुरिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार खोजी टोलीले सुरुङभित्र १.७ किलोमिटरसम्म प्रवेश गरिसकेको छ भने त्यहाँ एउटा गाडीसमेत फेला परेको छ । ठूला उपकरण पुगेपछि पुरिएका संरचना र सम्पर्कविहीनहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।