रसुवागढी नाका बन्द भएपछि कोरलाबाट चिनियाँ फलफूलको आयात बढ्यो


काठमाडौँः भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय क्षतिग्रस्त भएपछि चीनबाट आयात हुने फलफूल कोरला नाकातर्फ डाइभर्ट हुन थालेको छ ।

मुस्ताङको लोमान्थाङ–४, नेचुङस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार र सोमबार मात्रै कोरला नाकाबाट ८७ हजार किलो स्याउ, २६ हजार १०० किलो नासपाती, १५ हजार ४०० किलो आँप, ८ हजार किलो एभोकाडो र ९ हजार ४५० किलो ड्रागन फ्रुटको क्वारेन्टाइन जाँच गरिएको छ । कार्यालयका अनुसार रसुवामा रोकिएका चिनियाँ स्याउसमेत कोरला नाकाबाट भित्रिन थालेका छन् । थप फलफूलका कन्टेनर आउने सूचना प्राप्त भएको जनाइएको छ ।

कोरला नाकाबाट आउने फलफूल तथा बिरुवामा रोग–कीरा परीक्षण र विषादीसम्बन्धी जाँच गरिन्छ । तर, जनशक्ति भए पनि प्रयोगशाला तथा आवश्यक भौतिक पूर्वाधार भने पर्याप्त छैन। हाल प्रयोगशालाका उपकरण भवनभित्र राखेर टेन्टबाट परीक्षण तथा जाँचपास गर्ने काम भइरहेको छ । यसैगरी, रसुवागढीबाट हुने आयात कोरला नाकातर्फ डाइभर्ट भएको भन्दै मुस्ताङ, पोखरा र काठमाडौंमा समेत आवश्यक परीक्षण गरिने जनाइएको छ । दशैं–तिहारलाई लक्षित गर्दै कोरला नाकाबाट चिनियाँ भेडाच्याङ्ग्रा पनि आयात हुने गरेका छन् ।