काठमाडौँः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा नेपालीतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ रहेको छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषमा कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा खर्च गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिएको थियो । रासस





