ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको केही घण्टामै मन्त्री यादवको राजीनामा



काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै यादवले ‘पाता कस्नुपर्ने’ भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। ग्यासको आपूर्ति तथा बजार व्यवस्थापनको विषयमा उद्योगीहरूसँग असन्तुष्टि जनाउँदै उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

उनको उक्त अभिव्यक्तिको चर्चा भइरहेका बेला यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएकी हुन् । राजीनामाको विस्तृत कारण भने सचिवालयले खुलाएको छैन ।