रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा


सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वोच्चको फैसलापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् । यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।

सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु । सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् । नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै सर्वाेच्चले खारेज गरिदिएको छ ।