रविको राहदानी विवादमा महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ हुने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।

उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्ने भएको छ।

‘उहाँले हिजो पेस गरेको रिट आज सच्याएर ल्याउनुभएको छ। हामी दर्ता गर्ने क्रममा छौं ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने,‘आज दर्ता भएको रिटमा भोलि पहिलो सुनुवाइ हुन्छ।’

चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने दिन नै महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए।

अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो।