बालाजुको पेट्रोल पम्प हटाउँदै काठमाडौं महानगरपालिका


काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली पेट्रोल पम्प सिल गर्न बालाजु गएको छ।
सडकमै निर्बाध पेट्रोल पम्प चलाइएकाले सिल गर्न लागिएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। उनले भने, बाटोमै निर्बाध सञ्चालन गरिएको छ, तत्काल सिल गर्न लागेका हौँ, सिल गरेपछि बन्द होला नभए हटाउँछौँ।

सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ रहेको उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको उनले बताए।

उक्त पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा छ। आयल निगमले उक्त पेट्रोल पम्पसहित महानगरका १८ पेट्रोल पम्प हटाउने निर्णय गरेको थियो।

तर निगमले उक्त पेट्रोल पम्प हटाउन सकेको थिएन। केही समयअघि मात्रै उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो।