उपमेयरको गाडीको ठक्करबाट १४ महिने शिशुको ज्यान गयो


धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको ज्यान गएको छ ।

धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो ।

आज दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रणमा लिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।