लमजुङमा चक्कु प्रहार गरि २५ वर्षीय युवकको हत्या,एकजना पक्राउ



लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् । गएराति करिब १०ः३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ ।