बालकृष्ण खाणले परिवार संख्याका विषयमा अदालतमा दिए झुटो बयान


पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो दुई श्रीमती र परिवार संख्याका विषयमा अदालतमा झुटो बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको शुक्रवार बयान लिने क्रममा आफ्नो दुई श्रीमती र परिवार संख्याका विषयमा अदालतमा झुटो बयान दिएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिँदै इजलास अधिकृतले तपाईँको परिवारमा कति सदस्य हुनुहुन्छ, आर्थिक व्यवस्था सम्बन्धमा खुलाइदिनुहोस् भनेर २१ औँ सवालमा सोधेको प्रश्नमा उनले जवाफ दिएका छन्(मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरो आमा गरी पाँच जनाको सदस्य छौँ । बुटवलमा एउटा घर छ सो घरबाट घर भाडा आउँछ, जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधा नगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ ।

नेता खाणको दुई श्रीमती भएको विषय सबैलाई जानकारी छ । जेठी श्रीमती दिलमाया खाण ठकुरी रुपन्देहीको तिलोत्तमा ८ स्थित पुरानो घरमा बस्छिन् । उनी त्यहीको एक आधारभूत विद्यालयको स्थायी शिक्षिका हुन् । कान्छी श्रीमती मञ्जु खाण हुन् । अहिले नेपाली कांग्रेसको समानुपातिकबाट संघीय सांसद छन् । मञ्जु काठमाडौंमा बस्छिन् ।

हालसम्म दिलमाया र मन्जुको भेट नभएको परिवारकै सदस्यहरू बताउँछन् । अदालतको बयानमा नेता खाणले बुवाआमाको नाम बताएपनि श्रीमतीहरूको नाम र परिवारका सदस्यको संख्या ढाँटेका हुन् । बालकृष्णले २०४३ सालमा दिलमायासँग मागी विवाह गरेका हुन् ०५२ सालमा मन्जुसँग प्रेम विवाह गरेका हुन् ।

दिलमायातर्फ दुई छोरी र मञ्जुतर्फ एक छोरा र एक छोरी छन् । यसरी उनको परिवारको संख्या दुई श्रीमती, ४ छोराछोरी, आमा र आफू गरेर ८ हुन्छ तर उनले ५ जना भएको बयान दिएका हुन् ।