अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिएण्डबी अस्पतालमा आफन्तको आन्दोलन


उपचारमा लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको बिएण्डबी अस्पताल घेराउ गरेका छन् । बुधबार धादिङमा दुर्घटनामा परेका स्थानीय गोविन्द ढुङ्गानाको उपचारमा अस्पतालले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । 

मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा सामान्य घाइते देखिएका नीलकण्ठ ५ धादिङका गोविन्द ढुङ्गाना तथा उनकी श्रीमतीको उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पताल ल्याइएको थियो । बुधबार अपरान्ह दुर्घटना भएपछि धादिङमै प्राथमिक उपचार गरी काठमाडौं पठाइएका ढुङ्गानाको बिहीबार बिहान ५ बजे बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । 

मृतकका आफन्त नवराज ढुङ्गानाका अनुसार बुधबार धादिङको बेनीघाट रोराङ गाउँपालिका ५, चारघारेस्थित पृथ्वी राजमार्गमा धादिङको नीलकण्ठ नगरपालिका–५ का ढुङ्गाना सवार बागमती प्रदेश ०२–०१६प२१३९ नम्बरको स्कुटरलाई बाटो काट्दै गर्दा ना १६ प २६२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करपछि स्कुटरमा सवार ढुङ्गाना र उनकी पत्नी घाइते भएका थिए । घाइतेको थप उपचारका लागि बिएण्डी अस्पताल पुराइएकामा श्रीमतीको बाहिरी चोटमात्रै देखिएको कारण बुधबार राती नै टाँका लगाएर डिस्चार्ज गरिएको थियो ।  गोविन्दको कुममा भने चोट देखिएको कारण सामान्य अप्रेसन गर्नुपर्ने भनिए पनि सिटी स्क्यान भने गरिएको थिएन ।

हिँडडुल र गर्न र बोलचाल गर्न सक्ने भएपनि सामान्य घाइते भन्दै अस्पतालले उपचारमा चासो दिएको थिएन ।  तर बिहीबार बिहान ५ः१० बजे ढुङ्गानको मृत्यु भएको थियो । अस्पतालले गोविन्दको मृत्युको कारण हृदयघात भनी रिपोर्ट दिएको थियो । तर बिरामीका आफन्तलाई चित्त नबुझेर उनीहरुले पाटन अस्पतालमा लगी पोष्टमार्टम गराएका थिए ।

पोष्टमार्टम रिपोर्टमा भने सर्भाइकल इञ्जरी र आन्तरिक रक्तश्राव मृत्युको कारण रहेको रिपोर्ट दिएको थियो ।  आरटिए अर्थात् सडक दुर्घटनाका बिरामी उपचारका लागि आउँदा सिटी स्क्यान अनिवार्य शर्त हो । तर बिएण्डबी अस्पतालले बिरामीको सिटी स्क्यान नगरेको कारण आन्तरिक रक्तश्रावबारे अस्पताल र बिरामीलाई जानकारी हुन नसकेको हो ।

बिरामीलाई भएको समस्याबारे समयमै जानकारी हुन नसक्दा आन्तरिक रक्तश्रावका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । मृतकका परिवारले अस्पतालको लापवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

अस्पतालले छलफलका लागि बिहान ९ बजेको समय दिएपनि बिहान ९ः३० बजेसम्म छलफल हुन सकेको छैन । बिरामीका आफन्तले पाटन अस्पतालबाट अस्पताल परिसरमै शव ल्याई आन्दोलन गर्ने तयारी गरेका छन् ।