कैलाश यात्रामा नेपाल आएका चार मलेसियन नागरिक बेपत्ता, आमाबुबा खोज्दै आएका छोराछोरी निराश


काठमाडौँः कैलाश मानसरोवर यात्रा गर्न नेपाल आएका चार मलेसियन नागरिक १० भदौमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । उनीहरूसँग अन्तिमपटक २६ अगस्ट बिहान ८ः१५ बजे टिमुरे क्षेत्रमा सम्पर्क भएको थियो ।

त्यसपछि उनीहरूको मोबाइलमा फोन लाग्न छाडेको परिवारले जनाएको छ । सम्पर्कविहीन हुनेमा ५९ वर्षीय रमन सुप्रमनियम, ५४ वर्षीया निलाभनी मारिमुथु, ५८ वर्षीया पद्मावथी ए गोविन्दास्वामी र ६० वर्षीय मुरुकान सुप्रमनियम छन् । आमाबुबा सम्पर्कविहीन भएपछि उनीहरूका छोराछोरी मलेसियाबाट नेपाल आएका थिए। उनीहरूले सरकारी तथा सुरक्षा निकायसँग भेटेर खोजी तथा उद्धार अभियान तीव्र बनाउन आग्रह गरेका थिए ।

रमनकी छोरी लोगादर्सनीले आफ्ना आमाबुबासँग नेपाली समयअनुसार बिहान ८ः१५ बजे अन्तिमपटक सम्पर्क भएको बताइन् । त्यसपछि उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ । ‘हामीलाई उहाँहरू कहाँ हुनुहुन्छ भन्ने मात्रै थाहा पाउनुपरेको थियो। जीवित हुनुहुन्छ कि हुनुहुन्न, त्यो पनि थाहा भएन,’ मलेसियाबाट नेपाल आएका मितरुनले भने । परिवारले खोजी क्षेत्र विस्तार गर्न र आवश्यक परे नेपाल तथा अन्य देशका उद्धार तथा सैन्य टोलीको सहयोग लिनसमेत आग्रह गरेका थिए ।

तर, बाढी आएको सात दिनसम्म पनि चारै जनाको अवस्था पत्ता लाग्न सकेको छैन । सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको जानकारी परिवारलाई दिएको उनीहरूको भनाइ छ । आमाबुबालाई भेट्ने आश बोकेर नेपाल आएका छोराछोरीले विभिन्न सरकारी तथा सुरक्षा निकायसँग भेटेर खोजीका लागि आग्रह गरे पनि कुनै निश्चित सूचना पाउन सकेनन् ।

सम्पर्क हुने सम्भावना कमजोर हुँदै गएपछि उनीहरू निराश हुँदै मलेसिया फर्किन लागेका छन् । नेपालबाट फर्किंदै गर्दा उनीहरूको मनमा भने एउटै प्रश्न बाँकी छ—‘हाम्रा आमाबुबा कहाँ छन् ?’ चारै मलेसियन नागरिकको अवस्था अझै अनिश्चित छ ।