दाङको तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनाका अन्य चार जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ। तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकैबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई जानकारी दिए।
दुर्घटनामा परी दश जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। अन्य घाइतको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ। शुक्रबार बिहान साढे दश बजेतिर तुलसीपुरदेखि रोल्पा जान थालेको यात्रुबाहक जिप तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।