दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रु बाहक बसमा बिहीबार राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ चोर खोलामा करेन्ट लागेर मृत्यु भएका तीन जनाका आफन्तले राप्ती राजमार्ग अवरुद्ध बनाएका छन् ।
मृत्यु भएकाका आफन्तसँग वार्ता गर्ने बारेमा कुनै चासो नदेखाएका कारण मृतकका आफन्तले जिल्लाको छत्रेस्वरी गाउँपालिका–६ भूमिस्वर नजिकै राप्ती राजमार्गमा टायर बालेर बेन्च तेर्साइ सडक अवरुद्ध बनाएका हुन् । मृतकका परिवारले सडक अवरुद्ध बनाएपछि सल्यानबाट दाङ र दाङबाट सल्यान, रुकुम र रोल्पा जाने झन्डै चार दर्जन गाडी र त्यसमा सवार यात्रु सडकमै अलपत्र परेका छन् ।
बिहीबार बिहान उक्त घटना घटेपछि बेलुकी विद्युत् प्राधिकरण दाङ र सल्यानसँग वार्ता तथा छलफल गर्न भन्दा उनले कुनै चासो नदेखाएको र शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय जाँदा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल पनि बाहिर गएकाले बाध्य भएर सडक अवरुद्ध परेको छत्रेस्वरी गाउँपालिका–६ लान्ती घर भएका मृतक गाडी धनी महेन्द्र ओलीका आफन्त लालु देवकोटाले बताए ।
वार्ता बसेर क्षतिपूर्तिको उचित व्यवस्था नगर्दासम्म अवरुद्ध बनाएको सडक सञ्चालनमा आउन नदिने उनले जानकारी गराए । विद्युत् प्राधिकरणको लापरबाहीका कारण अकालमा तीन जनाले ज्यान गुमाएको उनको आरोप छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले शुक्रबार दिउँसो दुई बजेपछि वार्तामा बस्ने कुरा गरे पनि आधिकारिक जस्तो नदेखिएकै कारण सडक अवरुद्ध बनाउन परेको अर्का आन्दोलन कर्मी पवित्र डाँगीले बताए ।
सम्बन्धित निकायले वार्ता र क्षतिपूर्तिको व्यवस्था नगर्दासम्म मृतकका लासलाई पोष्टमार्टम गर्न नदिने र नबुझ्ने उनले चेतावनी दिएका छन् । बिहीबार भएको घटनामा सम्बन्धित निकाय जिम्मेवार नहुनु सबैको लागि दुःखको कुरा भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले वार्ताको लागि विद्युत् प्राधिकरणका टोली दाङबाट आउने भएकाले केही ढिलाइ भएको बताए ।
उनले प्राधिकरणका टोली दिउँसो एक बजे आइपुग्ने भएकाले दुई बजेपछि वार्तामा बस्ने जानकारी गराए । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको उनको भनाइ छ ।